६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

उखु किसानको आन्दोलन जारी : अनुदान बापतको रकम निकासा



काठमाडौं– उखु किसानहरूले काठमाडौंमा आन्दोलन जारी राखेको बेला सरकारले अनुदानबापतको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले सोमबार ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो, जुन रकम अब कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत सिधै किसानको बैंक खातामा जम्मा हुनेछ।

लामो समयदेखि रोकिएको रकम निकासा भएसँगै सरकारले किसानहरूसँग वार्ता पनि सुरु गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयका उपमहानिर्देशक ललन कुमार सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गर्नुभएको छ। उक्त टोलीले किसानका प्रतिनिधिहरूसँग सिंहदरबारमा वार्ता गरिरहेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार यसपटक किसानले प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान पाउनेछन्। प्राविधिक कारणले निकासामा ढिलाइ भए पनि अब भुक्तानी प्रक्रिया अघि बढेको कृषि मन्त्रालयले जनाएको छ। सरकारको यो कदमले किसानको तत्कालको समस्या समाधान हुने र आन्दोलन टुंग्याउन सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार ००:००  ८ : ४१ बजे