२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

एमाले केन्द्रीय कमिटी बैठक स्थगित



काठमाडौं-नेकपा एमालेले भदौ १३ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । तयारी पूरा नभएको कारण देखाउँदै बैठक सारिएको पार्टीले जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको तयारी नपुगेकाले हाललाई स्थगित गरिएको र अर्को मिति छिट्टै तय गरिने जानकारी दिनुभयो ।

बैठकमा विधान संशोधन प्रस्तावसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिने मुख्य कार्यसूची थियो । उक्त प्रतिवेदन पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्ने तय भएको थियो ।

एमालेले विधान संशोधनका लागि मातहतका कमिटीहरूलाई सुझाव पठाउन आजसम्मको समयसीमा दिएको थियो । ती सुझावहरूलाई समेटेर केन्द्रीय कमिटीमा प्रतिवेदन पेस गर्ने तयारी थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ । महाधिवेशनमा देशभरबाट २,१२८ प्रतिनिधि र २६४ आयोजक गरी कुल २,३९२ जना सहभागी हुनेछन् ।

केन्द्रीय कमिटी बैठक स्थगित हुनुको कारण महाधिवेशनको तयारी बताइए पनि पार्टीभित्र हाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयले चर्को विवाद सिर्जना गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार ००:००  २ : ०१ बजे