काठमाडौं-संसदीय समितिको नेतृत्व चयनदेखि उपनिर्वाचनको तयारीसम्मका महत्वपूर्ण एजेन्डामाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले बोलाएको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
यो स्थगनसँगै रिक्त रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन र रुपन्देही-३ को उपनिर्वाचनको उम्मेदवार टुंग्याउने प्रक्रिया थप अनिश्चित बनेको छ ।
सभापति देउवाको निवासमा बोलाइएको बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई डाकिएको थियो ।
तर, पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई फोनमार्फत बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो । अर्को बैठक कहिले बस्ने भन्नेबारे कुनै सूचना दिइएको छैन ।
सभामुख पर्खाइमा, कांग्रेस अलमलमा
‘कुलिङ पिरियड’ सम्बन्धी विवादका कारण सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि राज्य व्यवस्था समिति नेतृत्वविहीन छ ।
नियमअनुसार पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण आजै निर्वाचन गर्नुपर्ने दबाब छ ।
सभामुख देवराज घिमिरे कांग्रेसबाट उम्मेदवारको नाम आउने प्रतीक्षामा रहँदा कांग्रेसको शीर्ष बैठक नै स्थगित हुनुले पार्टीभित्रको अलमललाई सतहमा ल्याएको छ ।
उपनिर्वाचनको तयारी पनि शून्य
आगामी कात्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचनका विषयमा पनि कांग्रेसले तयारी सुरु गर्न सकेको छैन । महामन्त्री विश्वप्रकाश शर्माले उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न दुई पटक स्थलगत भ्रमण गरिसक्नुभएको छ र त्यसैबारे बैठकमा जानकारी गराउने तयारी थियो ।
तर, पार्टी विधान अनुसार उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न पठाउनुपर्ने परिपत्रसमेत केन्द्रले हालसम्म पठाएको छैन। यसले उपनिर्वाचनको तयारीमा पार्टी कति सुस्त छ भन्ने स्पष्ट पारेको छ ।



















