भद्रपुर-झापाको भद्रपुरमा एउटा घरलाई नै अखडा बनाएर लागूऔषध कारोबार गरिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका-८ स्थित एक घरमा छापा मारी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर, नगद र हतियारसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, भद्रपुर-८ बस्ने २१ वर्षीय राज श्रेष्ठले आफ्नै घरबाट ब्राउन सुगर बिक्री-वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा श्रेष्ठसहित ६ जनालाई रंगेहात पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट २०.४८ ग्राम ब्राउन सुगर, नगद १४ हजार १७० रुपैयाँ, विभिन्न कम्पनीका ८ थान मोबाइल, १ थान खुकुरी, पिलास र स्क्रु ड्राइभरजस्ता औजारसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा घरधनी राज श्रेष्ठसहित भद्रपुर-१० का २३ वर्षीय अलताप सेख, भद्रपुर-७ का १९ वर्षीय रमित राजबंशी र भद्रपुरकै २९ वर्षीय सुमित पासी रहेका छन् ।
त्यसैगरी, धादिङको रुबीभ्याली गाउँपालिका-५ का २४ वर्षीय गुम लामा र काठमाडौं, तारकेश्वर नगरपालिका-६ का १९ वर्षीय न्यान्जी तामाङ पनि पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई लागूऔषध ऐनअन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



















