१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

झापाले देखायो दम : महावीर पुनको पुस्तक बिक्रीमा बनायो राष्ट्रिय रेकर्ड !



बिर्तामोड-राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बिक्रीमा झापा जिल्लाले राष्ट्रिय कीर्तिमान कायम गरेको छ । दुई महिना लामो अभियानका क्रममा जिल्लामा पुस्तकको ३० हजार प्रति बिक्री भएसँगै झापा देशकै सबैभन्दा धेरै पुस्तक बिक्री गर्ने जिल्ला बन्न सफल भएको हो ।

डा. पुन आफैँ जिल्लाका १५ वटै पालिकामा पुगेर पुस्तक बिक्री अभियानमा होमिनुभएको थियो । उहाँको यो अभियानलाई झापाली पाठकहरूले उत्साहजनक साथ दिएका छन् । यसअघि सुनसरी जिल्ला २७ हजार प्रति बिक्रीका साथ शीर्ष स्थानमा थियो भने रुपन्देहीले २० हजार प्रति बिक्री गरेको थियो । झापाले यी दुवै जिल्लालाई पछि पार्दै नयाँ कीर्तिमान बनाएको हो ।

“४३ जिल्लामा पुस्तक बिक्री गर्दा सबैभन्दा बढी पुस्तक झापामा बिक्री भएको बिर्तामोडस्थित ईशा बुक्सका सञ्चालक केशव मैनालीले बताउनु भयो । उहाँले डा. पुनको अभियानमा स्थानीय स्तरबाट सहजीकरण गर्नु भएको थियो । पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालन र अनुसन्धान कार्यमा खर्च गरिनेछ ।

झापामा आफ्नो अभियान सफलतापूर्वक सम्पन्न गरी डा. पुनको यात्रा अब इलाम जिल्लातर्फ सोझिएको छ । उहाँले आइतवार कन्याम र आइतबार फिक्कल क्षेत्रमा पुस्तक बिक्री गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार ००:००  १० : १० बजे