बिर्तामोड-लागू औषधको फैलिँदो सञ्जाल तोड्न आफ्नो सक्रियता बढाइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले होटलहरू माथि निगरानी बढाएको छ ।
लागूऔषध प्रयोगकर्ताले स्थानीय होटललाई सेल्टर बनाएको पाइएपछि प्रहरीले आफ्नो निगरानी बढाउँदै लगेको हो । कतिपय होटलमा लागू औषधको कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ ।
डीएसपी विजय श्रेष्ठले स्वभाविक रूपमा होटलहरूमाथि निगरानी बढाइएको बताउनु भयो । ‘निगरानीमा छन् यहाँका धेरै होटल । लागूऔषध प्रयोगकर्ताले सेल्टर बनाएको पाइएको छ’, डीएसपी श्रेष्ठले भन्नुभयो ।
इलाका प्रहरी कार्यालयले होटलमा कस्ता प्रकारका मान्छे आएर बस्छन् भन्ने विषयमा सञ्चालकहरु सचेत हुनुपर्ने बताउँदै शङ्कास्पद देखिए प्रहरीमा खबर गर्न अनुरोध पनि गरेको छ ।
‘सुरक्षित गन्तव्य मानेर गलत क्रियाकलाप गर्नेहरू आइरहेका पनि हुनसक्छन्’, डीएसपी श्रेष्ठले भन्नुभयो, ‘समयमा जानकारी पाएको खण्डमा त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न सजिलो हुन्छ ।’
पछिल्लो केही समययता लागूऔषध नियन्त्रणमा प्रहरीले आफ्नो सक्रियता अझ तीव्र बनाएको बताउँदै डीएसपी श्रेष्ठले समुदायको सहयोग भएमात्रै थप सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।



















