इलाम-नेपाल र भारत सरकारबीचको सहकार्यले पूर्वी पहाडी जिल्लाका बासिन्दाको यात्रा सहज बनाएको छ । भारतीय सरकारको सहयोगमा इलामको पुवा खोलामा निर्माण गरिएको बेलीब्रिज औपचारिक रूपमा सञ्चालनमा आएपछि ताप्लेजुङ, पाँचथर र इलामको झापासँगको पहुँच सरल र छिटो भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार पुलको उद्घाटन गर्दै यसलाई दुई देशबीचको गहिरो मैत्री सम्बन्धको प्रतीकको रूपमा व्याख्या गरे ।
यो पुलले इलाम नगरपालिकाका दुई महत्वपूर्ण वडाहरूलाई जोड्दै समग्र पूर्वी नेपालको यातायात सञ्जाललाई बलियो बनाएको छ । ४८.८ मिटर लामो यो पुल सञ्चालनमा आउनुअघि स्थानीयलाई वर्षायाममा आवतजावत गर्न निकै कठिनाइ थियो ।
अब भने बाह्रै महिना सवारी सञ्चालन हुनेछ, जसले स्थानीय उत्पादनको बजारीकरण र नागरिकको दैनिक जीवनयापनमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।
१ करोड ४८ लाख रुपैयाँको लगानीमा बनेको यो पुलले भौतिक दूरी मात्र नभई विकासका अवसरहरूलाई समेत नजिक ल्याएको स्थानीयहरू बताउँछन् ।



















