१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवद्वारा सेवा निवृत्त प्राध्यापक पोखरेललाई उत्कृष्ट नारी सम्मान



झापा-वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवले सेवा निवृत्त प्राध्यापक कमला पोखरेललाई यस वर्षको उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । सोमबार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच पोखरेललाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको हो ।

अध्यक्ष क्लवले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने महिलालाई उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको छ । यस वर्ष क्लबले झापाको भद्रपुर निवासी मेची क्याम्पसकी सेवा निवृत्त प्राध्यापक पोखरेललाई सम्मान गरेको हो ।

संविधानसभाका सदस्य सुधीरकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच क्लवको नेतृत्वमा पोखरेललाई विभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्ने भद्रपुर नगरकी प्रथम महिलाका रूपमा दाहालको परिचय स्थापित छ । उहाँले २०३६ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

अविच्छिन्न ३७ वर्ष प्राध्यापन क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नु भएकी दाहालले सहायक क्याम्पस प्रमुखदेखि राजनीतिशास्त्रको विभागीय प्रमुखसम्मको जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो ।

उत्कृष्ट नारी प्रतिभा छनोट गर्न क्लवले डाक्टर रूपक खनालको नेतृत्वमा समिति गठन गरेको थियो । समितिमा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी र मोहनमाया माविकी पूर्व प्रधानाध्यापक विन्दु श्रेष्ठ सदस्य रहनु भएको थियो ।

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष मञ्जु पोखरेलले उत्कृष्ट नारी प्रतिभाको खोजी गर्दै जाँदा यसवर्ष शिक्षा क्षेत्रबाट नारी प्रतिभा छनोट गरिएको बताउनु भयो ।

पोखरेललाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य शिवाकोटी, संस्थापक अध्यक्ष शारदा रिजाल, क्लवकी अध्यक्ष पोखरेल, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य लगायतले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

क्लबद्वारा सम्मानित हुनुभएकी पोखरेल पाँचौँ महिला हुनुहुन्छ । वि.सं. २०३७ सालदेखि प्राध्यापन पेसामा संलग्न उहाँका श्रीमान् चिन्तामणि दाहाल पनि मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथि सिवाकोटी, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, मेची क्याम्पसकी पूर्व प्रमुख टीका प्याकुरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

यस क्लबले पहिलोपटक वि.सं. २०७७ मा समाजसेवा क्षेत्रबाट स्वर्गीय गिरीराजकुमारी प्रसाईंलाई सम्मान प्रदान गरेको थियो । त्यसैगरी, वि.सं. २०७८ मा शिक्षा क्षेत्रबाट प्रभा घिमिरे, वि.सं. २०७९ मा प्राविधिक क्षेत्रबाट पाइलट जिना लिङ्देन र वि.सं. २०८० मा खेलकुद क्षेत्रबाट ओलम्पियन मेनुका राउतलाई सम्मानित गरिएको थियो ।

पूर्व अध्यक्ष स्वस्तिका आचार्यले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन क्लवकी सचिव एवम् निवर्तमान अध्यक्ष मेनुका ओलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ००:००  ४ : ०५ बजे