झापा-झापाको कनकाई नगरपालिकास्थित पवित्र कनकाई घाटमा अब दाउराको धुवाँ र घण्टौँको प्रतीक्षाबिना नै अन्तिम संस्कार गर्न सकिने भएको छ ।
कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र दाताहरूको संयुक्त लगानीमा दुई करोड ३० लाखको लागतमा अत्याधुनिक विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको हो ।
यो महत्वपूर्ण परियोजना कोशी प्रदेश सरकारको दुई करोड, कनकाई नगरपालिकाको २० लाख र विभिन्न दाताहरूको १० लाखको सामूहिक लगानीमा साकार भएको हो ।
कनकाई नदीको पूर्वी तटमा निर्माण गरिएको यो शवदाह गृहले समय, स्रोत र वातावरण संरक्षणमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार, प्रदेश सरकारसँगको सम्झौता बमोजिम शवदाह गृहको सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको छ ।
‘शवदाह गृह सञ्चालनका लागि हामीले कार्यविधि नै तयार गरिसकेका छौँ’, प्रमुख पोखरेलले भने, ‘अबको एक साताभित्रै यसलाई विधिवत रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।’
विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोली निर्माण कार्य उत्कृष्ट ढंगले सम्पन्न गरेर फर्किसकेको जानकारी दिए ।
गत साउन २७ गते झापा गाउँपालिकाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरेर यसको सफल परीक्षणसमेत गरिएको थियो ।
समयको ठूलो बचत, वातावरणलाई राहत
खरेलका अनुसार विद्युतीय प्रणालीबाट एउटा शव दहन हुन करिब ५० मिनेट मात्र लाग्छ, जबकि दाउरा प्रयोग गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने गरेको थियो । यसले शोकसन्तप्त परिवारजनको लामो र कष्टकर प्रतीक्षालाई अन्त्य गर्नेछ ।
विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्म पाँचवटा परम्परागत चितास्थल सञ्चालनमा छन् । विद्युतीय शवदाह गृहको सुरुवातले स्थानीयस्तरबाट लामो समयदेखि उठ्दै आएको माग सम्बोधन भएको छ ।
यसले दाह संस्कारमा प्रयोग हुने दाउराको खपतलाई न्यूनीकरण गरी वनजंगल संरक्षणमा मद्दत पुर्याउने र धुवाँरहित प्रविधिले वातावरणीय स्वच्छता कायम राख्न सघाउने विश्वास लिइएको छ ।



















