१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

शिक्षक र निजी विद्यालयलाई अभिभावक संघको कडा चेतावनी



काठमाडौं– विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षक र निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेलगत्तै अभिभावकहरूले कडा प्रतिवाद गरेका छन् ।

नेपाल राष्ट्रिय अभिभावक संघले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न र कुनै पनि हालतमा विद्यालय बन्दजस्ता कार्यक्रम नगर्न चेतावनी दिएको हो ।

संघले विज्ञप्ति जारी गर्दै शैक्षिक सत्रको मध्यमा गरिने कुनै पनि किसिमको आन्दोलनले विद्यार्थीको पढ्ने अधिकार खोस्ने बताएको छ । “विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार कुण्ठित गर्ने गरी विद्यालय बन्द नगरियोस्,” विज्ञप्तिमा भनिएको छ ।

संघले विद्यालय बन्द गरेर गरिने जुनसुकै आन्दोलनप्रति आफ्नो पूर्ण असहमति रहेको स्पष्ट पार्दै यस्तो अवस्था आउन नदिन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

उल्लेखनीय छ, संसदबाट पारित हुन लागेको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधानप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि र निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सन/एनप्याब्सनले आजैदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

यद्यपि, शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले तत्कालै विद्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिसकेका छैनन् । तर, आन्दोलनले भविष्यमा त्यस्तो रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अभिभावक संघले पहिले नै आफ्नो अडान स्पष्ट पारेको हो । यो चेतावनीले अब शिक्षक र विद्यालय सञ्चालकहरूमाथि नैतिक दबाब सिर्जना गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार ००:००  १० : ४८ बजे