झापा-प्रेस चौतारी झापाले संगठनका संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति प्रदान गर्ने भएको छ । चाैतारीले कान्तिपुरकर्मी रमा दाहाललाई लेखनवृत्ति दिन लागेको हो ।
बाह्रदशी गाउँपालिकामा मुस्लिम, मधेशी समुदायका महिलाको न्यायमा पहुँच नपुगेको विषयमा दाहालले गरेको रिपोर्टिङलाई लेखनवृत्ति दिन लागिएको प्रेस चाैतारी झापाका अध्यक्ष प्रदीप परियारले बताउनु भयो ।
प्रेस चौतारी नेपाल झापाको मङ्गलबार बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष परियारको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको थियो ।
समितिको सदस्यमा प्रेस चौतारी झापाका इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य रहनु भएको थियो । सो छनौट समितिले गरेको सिफारिसलाई जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।
जिल्लामा पछिल्लो ६ महिनामा प्रकाशित तथा प्रशारित समाचारहरु संकलन गरेर लेखनवृत्तिका लागि छनौट समितिले उत्कृष्ट समाचार लेख्ने पत्रकारको नाम जिल्लालाई सिफारिस गरेको थियो ।



















