बिर्तामोड– झापाको गौरादह-९ मा एक १६ वर्षीया किशोरी छिमेकीबाटै बलात्कृत भई सात महिनाको गर्भवती बनेको घटना सार्वजनिक भएको छ ।
घटनाका आरोपी ५३ वर्षीय पुरुष हाल फरार छन् भने प्रहरीले उनको खोजी तीव्र पारेको छ । आफन्तको घरमा बसेर अध्ययन गरिरहेकी ती किशोरीलाई छिमेकी राई थरका पुरुषले पटक-पटक डर-धम्की देखाई जवरजस्ती करणी गरेको पीडितको भनाइ छ ।
आरोपीले ज्यान मार्ने धम्की दिएका कारण त्रसित किशोरीले आफूमाथि भएको हिंसा लामो समयसम्म लुकाएकी थिइन् । महिनावारी नभएपछि परिवारले सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार, पीडित पक्षले जेठ २८ गते आरोपी विरुद्ध जाहेरी दिएको थियो । प्रहरी निरीक्षक सुशील थापा मगरले घटनाको पुष्टि गर्दै आरोपीको खोजी कार्य जारी रहेको र छिट्टै पक्राउ गरिने बताए ।
स्रोतका अनुसार, घटना बाहिरिएपछि स्थानीय स्तरमा छलफल गरी विषयलाई सामसुम पार्ने प्रयास भएको थियो, जसको फाइदा उठाउँदै आरोपी फरार हुन सफल भए ।
पीडित किशोरी अबको दुई महिनामा सुत्केरी हुने अवस्थामा छिन् । उनको भविष्य र गर्भको शिशुको अवस्थाबारे परिवार चिन्तित छ।



















