कैलाली– महालक्ष्मी विकास बैङ्कको गोकुलेश्वर शाखाबाट २ करोड ८४ लाख रुपैयाँ भन्दाबढी रकम हिनामिना भएको छ । बैङ्कको पैसा निकालेर प्रतिबन्धित अनलाइन जुवा (वान एक्स बेट) मा लगाएको आरोपमा प्रहरीले तत्कालीन शाखा प्रबन्धकसहित चार जना कर्मचारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, नगद विभागकी २९ वर्षीया निर्मला साउँद, कर्जा विभागका ३१ वर्षीय धनञ्जय पन्त र ग्राहक सहायता कक्षका २८ वर्षीय अम्बादत्त पन्त रहेका छन् ।
बैङ्कले गरेको आन्तरिक अनुसन्धानबाट कर्मचारीको मिलोमतोमा रकम अपचलन गरी अनलाइन जुवामा लगानी गरेको खुलेपछि उनीहरूलाई निलम्बन गरी प्रहरीमा जाहेरी दिइएको थियो ।
सोही जाहेरीका आधारमा दार्चुला प्रहरीले उनीहरूलाई साउन २४ गते पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई बैङ्किङ कसुर मुद्दामा दार्चुला जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















