१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

शिशुको उपचारबारे विवाद : भ्रम नफैलाउन अस्पतालको आग्रह, पीडित भन्छन्, ‘पैसा फिर्ता चाहियो’




बिर्तामोड-बिर्तामोड झापाको बिर्तामोडस्थित चिल्ड्रेन अस्पतालमा उपचार गराइएको एक शिशुको स्वास्थ्य अवस्थालाई लिएर अस्पताल प्रशासन र बिरामीको परिवारबीच गम्भीर विवाद उत्पन्न भएको छ ।

अस्पतालले बच्चालाई निको पारेर पठाएको दाबी गरेको छ भने परिवारले उपचारपछि पनि समस्या जस्ताको तस्तै रहेको र आफूहरू ठगिएको भन्दै उपचारमा लागेको खर्च फिर्ता मागेको छ ।

यो विवाद तब सुरु भयो, जब अस्पतालबाट डिस्चार्ज भएर घर पुगेको केही घण्टामै शिशुको स्वास्थ्यमा पुनः पुरानै समस्या देखियो र परिवारले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्‍यो ।

के हो घटना ?
अर्जुनधारा नगरपालिका–५, चाँदनी चोकका रामबहादुर गिरीले आफ्नी नौ महिनाकी नातिनी अनुश्री गिरीलाई छारे रोग देखिएपछि साउन २ गते बिर्तामोडको चिल्ड्रेन अस्पतालमा भर्ना गरेका थिए ।

अस्पतालमा १७ दिनको उपचारपछि साउन १९ गते अस्पतालले शिशुलाई डिस्चार्ज दियो । तर, सोही दिन राति ९ बजेदेखि शिशु फेरि काप्न थालेपछि परिवारले अस्पतालको उपचारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको थियो ।

७ लाख सकियो, रोग निको भएन : परिवार

बिरामी शिशुका हजुरबुवा रामबहादुर गिरीका अनुसार १७ दिनको उपचारमा अस्पतालको बिल मात्रै ४ लाख ७६ हजार रुपैयाँ तिरेको र अन्य खर्चसहित करिब ७ लाख रुपैयाँ सकिएको छ ।

भिडियो सार्वजनिक भएपछि अस्पतालको टोली घरमा आएर भिडियो हटाउन दबाब दिएको पनि गिरीले आरोप लगाए । शिशुकी आमा दीपा गिरीले बच्चा अहिले पनि कापेर सुत्न नसक्ने अवस्थामा रहेको बताइन् । उनीहरूले अहिले धामीझाँक्रीलाई पनि देखाइरहेको स्वीकार गरेका छन् ।

उपचारमा कमजोरी छैन : अस्पताल प्रशासन

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर परिवारको आरोपको खण्डन गरेको छ । अस्पतालकी अध्यक्ष लीलादेवी मैनालीले अस्पतालको बदनाम गर्ने उद्देश्यले भ्रम छरिएको बताइन् । उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. रुपक आचार्यका अनुसार शिशुलाई जटिल अवस्थामा अस्पताल ल्याइएको थियो ।

‘बच्चालाई छारे रोग पटक–पटक दोहोरिएको थियो, अक्सिजनको मात्रा ८३ प्रतिशत मात्र थियो । हामीले प्रोटोकल अनुसार भेन्टिलेटरमा राखेर उपचार गर्‍यो र बच्चाको ज्यान बचायौँ’, डा. आचार्यले भने, ‘लामो उपचारपछि बच्चा हाँस्न र खेल्न थालेको, आमाले आफैँ खुवाउन सक्ने भएको र ५ दिनसम्म कुनै समस्या नदेखिएपछि मात्र डिस्चार्ज गरिएको हो ।’

डा. आचार्यले रोग शतप्रतिशत निको नहुने र पटक–पटक दोहोरिन सक्ने जानकारी परिवारलाई पहिले नै गराइएको बताए । उनका अनुसार, डिस्चार्ज गर्नुअघि टाउकोको ‘ईईजी’ जाँच गरेर औषधिको मात्रा मिलाउन सल्लाह दिइएको थियो, तर परिवारले ईईजी गर्न अस्वीकार गर्‍यो ।

‘घरमा लगेपछि औषधिको मात्रा नमिलेर वा नियमित नखुवाएर समस्या बल्झिएको हुन सक्छ’, उनले भने, ‘समस्या देखिएपछि धामीझाँक्रीको सट्टा अस्पताल ल्याउनु पथ्र्यो ।’

अध्यक्ष मैनालीले अस्पतालको टोली बिरामीको घरमा गएर निःशुल्क उपचारको लागि सहयोग गर्ने प्रस्ताव राख्दा परिवारले अस्वीकार गरी ४ लाख ८० हजार रुपैयाँ फिर्ता मागेकोमा आपत्ति जनाइन् । उनले अस्पतालले परिवारलाई ५० हजार रुपैयाँभन्दा बढी छुट दिएको र सबै बिल सुरक्षित रहेको पनि जानकारी दिइन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार ००:००  ५ : २५ बजे