६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

उद्योग जोगाउन झापाका पोल्ट्री व्यवसायीले ढकढक्याए सिंहदरबारको ढोका



झापा- एकातिर खुला सिमानाबाट अवैध रूपमा भित्रिने सस्तो कुखुरा, चल्ला र अण्डाको मार, अर्कोतिर आफ्नै सरकारले ‘कृषि सुधार’ को नाममा लगाइदिएको चर्को कर । यस्तै दोहोरो चेपुवामा परेपछि आत्मनिर्भर बन्ने संघारमा पुगेको नेपालको पोल्ट्री व्यवसाय अहिले संकटमा छ ।

यही संकटबाट उद्योग जोगाउन झापाका पोल्ट्री व्यवसायीहरुले सिंहदरबारको ढोका ढकढक्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुहार मागेका छन् । नेपालमा कुखुराको दानाका लागि अत्यावश्यक मकै र भटमासको उत्पादन नगन्य छ, जसकारण व्यवसायीहरू भारतबाट कच्चा पदार्थ आयात गर्न बाध्य छन् ।

तर, विडम्बना ! तिनै किसानले आयात गरेको मकैमा ५ प्रतिशत र भटमासमा ९ प्रतिशत ‘कृषि सुधार शुल्क’ लाग्दै आएको छ । यसले उत्पादन लागत बढाउँदा नेपाली उत्पादन महँगो पर्न गएको छ भने चोरी-निकासीबाट भित्रिएका भारतीय उत्पादनले बजार खाइदिएको छ ।

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य सुवोध निरौलाको धारणा सुन्दा अवस्थाको भयावहता प्रस्ट हुन्छ । उनी भन्छन्, “विगतमा हप्तामा ३५ लाख चल्ला उत्पादन हुन्थ्यो, अहिले मुस्किलले २६ लाख बिक्री हुन्छ । हरेक हप्ता ५ लाख बराबरको कुखुराको मासु बजार नपाएर खेर गइरहेको छ ।”

यो आँकडाले व्यवसायीको लगानी मात्र डुबेको छैन, हजारौं किसानको पसिना र मिहिनेत पनि ब्यर्थ गइरहेको देखाउँछ । व्यवसायीहरुको टोलीले प्रधानमन्त्री ओलीसमक्ष आफ्नो पीडा पोख्दै भन्यो, “हामी दाना, चल्ला र अण्डामा आत्मनिर्भर बन्दैछौं, तर अवैध आयात र अव्यवहारिक करले हामीलाई थला पार्यो । सिमानामा कडाइ गर्नुहोस् र किसानमारा कर खारेज गर्नुहोस् ।”

उनीहरुले अवैध आयातले राजस्व गुम्नुका साथै बर्डफ्लु जस्ता महामारीको जोखिम बढाएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धर र नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी लगायतको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले पोल्ट्री क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार ००:००  १ : ५४ बजे