१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

हङ्कङको सपना देखाएर भारत लगिएका ७ नेपाली किशोरीको उद्धार, दुईजना पक्राउ



काँकडभिट्टा– वैदेशिक रोजगारीका लागि हङ्कङ लैजाने प्रलोभनमा पारी भारत पुर्‍याइएका सङ्खुवासभाका सात जना किशोरीलाई भारतीय प्रहरीले उद्धार गरेको छ ।

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एक भारतीयसहित दुई जनालाई पक्राउ गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेका अनुसार, भारतको सीमावर्ती बजार पानीट्याङ्कीबाट शुक्रबार किशोरीहरूको उद्धार गरिएको हो ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभा, मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् ।

अभियुक्तहरूले किशोरीहरूलाई नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिराएका थिए । उनीहरूको नक्कली आधार कार्ड लगायतका कागजात बनाउन सिलिगुढी लैजाने क्रममा भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उद्धार गरिएका किशोरीहरूलाई नेपाल फर्काउन माइती नेपालको टोली भारत पुगे पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनीहरूलाई हाल भारतकै खोरीबारी प्रहरी चौकीमा राखिएको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उक्त घटनाबारे भारतीय पक्षबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, शनिबार ००:००  १२ : ४६ बजे