१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

एमालेप्रति खनाल नरम देखिँदा अध्यक्ष नेपालको आक्रोश : ‘पार्टी छोडेर गए हुन्छ’



झापा-नेकपा एकीकृत समाजवादीका दुई नेता बीचको असन्तुष्टि सतहमा आएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल बीचको तिक्तता छरपष्ट भएको हो ।

अध्यक्ष नेपाल र नेता खनालले एकअर्कालाई कटाक्ष गरेका छन् । इमेज टेलिभिजन सँगको अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेकपा एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको प्रतिक्रिया दिएपछि विवाद बढेको हो ।

पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा नेता खनालले भनेका थिए, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

पार्टीका सम्मानित नेता खनालले एमाले विभाजन गर्नु गलत रहेको अन्तर्वार्ता दिएपछि त्यसको जवाफमा अध्यक्ष नेपालले पार्टी छोडेर जान चुनौती दिएका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले बोलेको हो भने पार्टीबाट बिदा गरिदिनुपर्छ नि ! भन्दै नैतिक आधारमा खनाललाई पार्टीमा बस्ने अधिकार नभएको बताएका छन् ।

अध्यक्ष नेपालले भने, ‘यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि ! नैतिक आधार नै छैन। खुरुक्क राजिनामा दिनुपर्छ । बिदा भएर जानुपर्छ ।’ अध्यक्ष नेपालको जवाफले खनालको आक्रोश चुलिएको छ ।

पार्टीबाट बिदा गरिन्छ भन्ने अध्यक्ष नेपालको भनाइप्रति लक्षित गर्दै नेता खनालले यसलाई तानाशाही शैली भनेका छन् । पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रुपमा सोध्न सकिने भएपनि त्यसमा अध्यक्ष नेपालले तानाशाही शैली देखाएको खनालले बताए ।

२०७८ भदौ ९ मा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो । पार्टी गठन भएयता यी दुई नेता बीचको खटपट सार्वजनिक हुँदै आएको छ । पछिल्लो समय एकले अर्काको अस्तित्व स्वीकार गर्नै नसकिने तहमा यी नेता पुगेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  ९ : ०० बजे