सतासीधाम– पूर्वी नेपालको फुटबल उर्वरभूमि झापामा अब महिला फुटबलले नयाँ उचाइ छुने भएको छ ।
शिवसताक्षी नगरपालिका-१०, दुधेमा निर्माणाधीन रंगशालामा आगामी कात्तिक १५ देखि अन्तर्राष्ट्रियस्तरको महिला गोल्डकप आयोजना हुन लागेको हो ।
आयोजक संस्थाका अध्यक्ष सन्तोष थोप्राले गाउँ-गाउँमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै महिला सशक्तीकरणमा खेलकुदलाई जोड्नु प्रतियोगिताको उद्देश्य रहेको बताए ।
प्रतियोगिताको आकर्षण यसको भव्यता र पुरस्कार राशिले पनि बढाएको छ । प्रतियोगितामा नेपालका तीन शक्तिशाली विभागीय टोलीहरू आर्मी, एपीएफ र पुलिस क्लबका साथै भारत र भुटानका आमन्त्रित टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुई ‘ए’ डिभिजन क्लब र आयोजकको आफ्नै टोलीसहित कुल आठ टिमको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउनेछ ।
यो प्रतियोगिता दुधे रंगशालाको औपचारिक उद्घाटनको साक्षी पनि बन्नेछ । नगर प्रमुख मेघाहाङ थोप्राका अनुसार, रंगशाला निर्माणमा हालसम्म २ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
संघीय सरकारबाट ३ करोड र नगरपालिकाबाट ५० लाख रुपैयाँ थप बजेट विनियोजन भएको छ ।














