झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार एकै मञ्चबाट दुईतर्फी राजनीतिक निशाना साँधेका छन् ।
अध्यक्ष लिङ्गदेनले पार्टीभित्र आफूविरुद्ध गुटबन्दी गर्ने नेताहरूलाई कि त महाधिवेशन कुर्न, कि त पार्टी छाड्न कडा शब्दमा ‘अल्टिमेटम’ दिएका छन् भने सरकारमाथि भ्रष्टाचारमा चुर्लुम्म डुबेको गम्भीर आरोप लगाएका छन् ।
झापाको मेचीनगरमा आयोजित पार्टीको पाँचौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन हालै आफूविरुद्ध विज्ञप्ति जारी गर्ने चार शीर्ष नेताहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
केही दिनअघि उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी तथा महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले लिङ्देनको नेतृत्वले पार्टीलाई क्षति पुर्याएको भन्दै संयुक्त विज्ञप्ति निकालेका थिए ।
त्यही असन्तुष्टिपट्टि सङ्केत गर्दै लिङ्देनले भने, ‘विचार मिल्छ तर नेतृत्वमा चित्त बुझेको छैन भने महाधिवेशन पर्खनुस् । तर, यदि विचार नै मिल्दैन भने बाटो तताउनुहोस्, कसैले रोक्दैन ।’ उनको यो भनाइले राप्रपाभित्रको आन्तरिक कलह सतहमा आएको स्पष्ट सङ्केत गरेको छ ।
आन्तरिक राजनीतिमा मात्रै नभई लिङ्देन वर्तमान सरकारमाथि पनि उत्तिकै खनिएका छन् । उनले सरकारमा ‘कसले कति कमाउने’ भन्ने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको आरोप लगाउँदै देशलाई थप सङ्कटतर्फ धकेलिएको बताए ।
‘यो सरकारले जनतालाई विदेशमा बेचेर खाने, महँगी बढाएर खाने, शरणार्थी बनाएर खाने र भिजिट भिसामा पठाएर पनि कमाउने बाहेक केही गरेको छैन’, लिङ्देनले आक्रोश पोखे ।



















