काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने चर्चाले नेकपा एमालेभित्र नयाँ तरङ्ग उत्पन्न गरेको छ ।
स्वयम् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको खुलासा गर्दै उहाँको राजनीतिक पुनरागमनको सम्भावनामाथि नै प्रश्न उठाउनु भएको छ ।
शुक्रबार बसेको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले भण्डारीको पुनरागमनबारे कडा टिप्पणी गर्नु भयो । उहाँले कसैको उक्साहटमा लागेर भण्डारीजस्तो सम्मानित व्यक्तित्व सक्रिय राजनीतिमा फर्किन नहुने तर्क गर्नु भयो ।
‘उहाँजस्तो सम्मानित व्यक्तित्वले कसैले उक्साए भन्दैमा राजनीतिमा फर्कनु हुँदैन । यो उहाँ प्रतिको जनविश्वाससँग जोडिएको विषय हो,’ ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘उहाँको सदस्यता नवीकरण भएको मैले देखेको छैन ।’
पूर्व राष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरणको प्रक्रिया अघि बढिसकेको निकटस्थहरूमार्फत बताउँदै आउनु भएको थियो । तर, पार्टी अध्यक्षबाटै यस्तो भनाइ आउनुले एमालेभित्र भण्डारीको भूमिकालाई लिएर गम्भीर मतभेद रहेको संकेत गर्छ ।



















