१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार कार्यालय स्थापना



झापा-कोशी प्रदेश सरकारले विकास निर्माणका कामलाई व्यवस्थित र विकेन्द्रित गर्न प्रदेशका सबै १४ जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्न थालेको छ ।

यसै क्रममा सुनसरीको इनरुवामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यालयको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले यी कार्यालयको स्थापनाले जनतालाई प्रदेश सरकारको उपस्थिति नजिकबाटै महसुस गराउने बताउनु भयो ।

उहाँले चालु आर्थिक वर्षका योजनाहरू असोजभित्रै सुरु गर्न निर्देशन दिँदै यसले ‘असारे विकास’ को प्रवृत्ति अन्त्य गर्ने विश्वास व्यक्त गर्नु भयो ।

विगतमा बजेट समानुपातिक नभएको गुनासोलाई सम्बोधन गर्न अब यी कार्यालयले नै जिल्लाको प्राथमिकता निर्धारण गर्नेमा उहाँले जोड दिनु भयो।

मुख्यमन्त्रीले सुनसरीमा कोशी रिफ्रेसमेन्ट सेन्टर जस्ता ठूला आयोजनाहरू अघि बढाइने जानकारी पनि दिनु भयो । यसैगरी, खोटाङमा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले कार्यालय उद्घाटन गर्नुभएको छ ।

अन्य जिल्लामा पनि उद्घाटनको तालिका तय गरिएको छ । यो कदमसँगै, पहिले ९ वटा मात्र रहेका पूर्वाधारसम्बन्धी कार्यालयहरूको सङ्ख्या बढेर अब हरेक जिल्लामा एक-एक गरी १४ पुगेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार ००:००  ७ : ५५ बजे