१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

बिर्तामोडमा सुरु भयो धनीपूर्जा वितरण



बिर्तामोड-वर्षौंदेखि आफूले जोतभोग गर्दै आएको जग्गाको मालिक बन्ने सपना पालेका बिर्तामोडका भूमिहीनको सपना अब विपनामा परिणत हुन थालेको छ ।

बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने अभियान औपचारिक रूपमा प्रारम्भ गरेको छ ।

नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहसँगै बुधबार सभामुख देवराज घिमिरेले वडा नं. ७ का तीन जना भूमिहीन किसानलाई प्रतिकात्मक रूपमा जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गर्नु भयो ।

वडा नं. ७ का वडाध्यक्ष अबिरल कृष्ण खरेलका अनुसार यस वडामा मात्रै ३४१ घरपरिवारले लालपुर्जा पाउनु पर्नेछ । जसमध्ये पहिलो चरणमा सम्पूर्ण प्रक्रिया पूरा भएका १४१ परिवारले लालपुर्जा प्राप्त गर्ने छन् ।

‘भूमिसम्बन्धी नयाँ कानुन पारित भएलगत्तै बाँकी रहेका सबै परिवारलाई लालपूर्जा वितरण गर्ने बाटो खुल्नेछ’, वडाध्यक्ष खरेलले भन्नुभयो, ‘हामी कोही पनि नछुटुन् भनेर लागिपरेका छौँ ।’

नगर प्रमुख पवित्रा महतारा प्रसाईले धनीपूर्जा वितरण कार्यलाई नगरपालिकाको उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

‘यो केवल सुरुवात हो। हामी नगरका सबै वडाका भूमिहीन र सुकुम्बासी दाजुभाइ दिदीबहिनीलाई जग्गाको मालिक बनाउने अभियानलाई तीव्रता दिनेछौँ’, उहाँले भन्नुभयो ।

धनीपूर्जा वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकामा यसअघि नै ‘भूमिहीन समस्या समाधान आयोग’ को कार्यालय स्थापना भइसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार ००:००  ९ : ४६ बजे