१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

बिर्तामोडमा लिफ्ट सहितको प्रशासनिक भवन निर्माण : सभामुख घिमिरेद्वारा उद्घाटन



बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकाले अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवन पाएको छ । बुधबार आयोजित एक समारोहका बीच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त भवनको समुद्घाटन गर्नु भएको हो ।

नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार करिब ५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवन पाँच तले रहेको छ ।

उहाँले नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताउनु भयो ।

‘सेवाग्राहीको बढ्दो चाप र नगरको दैनिक कामकाजलाई सहज ढंगले व्यवस्थापन गर्न यो भवनले महत्त्वपूर्ण भूमिका खेल्नेछ’, नगर प्रमुख प्रसाईले भन्नुभयो ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले बिर्तामोडको भवन साँघुरो रहेको अवस्थामा नयाँ भवन निर्माण हुनु सुखद विषय भएको बताउनु भयो ।

नवनिर्मित भवनमा सेवाग्राही र कर्मचारी दुवैका लागि विशेष सुविधाहरू समेटिएका छन् । भवनकाे भुइँतलामा सवारी पार्किङको व्यवस्था गरिएको छ ।

दोस्रो तलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहितको कार्यकक्ष बनाइएको छ । तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष छ । चौथो तलामा आकर्षक र आधुनिक सभा हल बनाइएको छ ।

उपप्रमुख नगेन्द्रप्रसाद संग्राैलाका अनुसार भवनमा लिफ्ट जडान गरिएकाले यो अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँचयुक्त छ ।

भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएका छन्, जसले काम गर्ने वातावरणलाई थप सहज बनाउनेछ ।

प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सेवाग्राहीको बढ्दो चाप र नगरको विस्तारित कार्यबोझलाई व्यवस्थापन गर्न नयाँ भवनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

स्थानीय पूर्वाधार विभाग र बिर्तामोड नगरपालिकाको ५०-५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको यो भवन २०८० असार २४ गते शिलान्यास भई २०८१ पुस १७ गते निर्माण सम्पन्न भएको थियो ।

२३ मिटर लम्बाइ र १४ मिटर चौडाइमा फैलिएको यो नयाँ संरचनाले बिर्तामोडको विकासमा नयाँ आयाम थपेको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताउनु भयो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार ००:००  ७ : ४२ बजे