२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

झापा इनर्जीले सर्वसाधारणका लागि ९.५ करोडको आईपीओ निष्कासन गर्ने



बिर्तामोड– सौर्य ऊर्जा उत्पादनमा सक्रिय झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्न स्वीकृति दिएसँगै आईपीओको बाटो खुलेको हो ।

स्वीकृति अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्कासन गर्नेछ । यसको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले पाएको छ ।

झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सञ्चालन गरिरहेको यस कम्पनीले गत आर्थिक वर्षको माघ १० गतेदेखि व्यावसायिक विद्युत उत्पादन थालेको हो ।

उत्पादन सुरु भएयता असार मसान्तसम्म कम्पनीले करिब ५ करोड २९ लाख रुपैयाँको विद्युत बिक्री गरिसकेको छ।प्रबन्ध सञ्चालक सुवास भट्टराईका अनुसार, यस अवधिमा उत्पादित विद्युत दमकको बुलुचोक सब-स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

कम्पनीको सफल सञ्चालन र आम्दानीले आईपीओमा लगानीकर्ताको आकर्षण बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार ००:००  ११ : ४० बजे