झापा-मोरङको मिक्लाजुङमा ऋण असुलीका लागि गएका सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई महिलाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
पक्राउ पूर्जी जारी भएसँगै उनीहरु फरार भएका छन् र प्रहरीले उनीहरुको खोजी तीव्र पारेको छ । गत असार २८ गते मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्रका कर्मचारी रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मामाथि अभद्र व्यवहार भएको थियो ।
ऋणको किस्ता उठाउन जाँदा उनीहरुलाई चन्द्रलाल मगरकी पत्नी माया मगर र नैनप्रसाद लिम्बूकी छोरी दुर्गा माया लिम्बूले अपशब्द प्रयोग गर्ने, गालीगलौज तथा हातपात गर्ने र जुत्ताको माला लगाइदिएर अपमानित गरेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार, फरार रहेका अभियुक्तको खोजीका लागि सादा पोशाकका प्रहरीसमेत खटाइएको छ ।
यसैबीच, घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सहारा नेपालले मंगलबार जिल्ला प्रशासन कार्यालय, झापामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
संस्थाका उप-निर्देशक दिनेश निरौला नेतृत्वको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई भेटेर कर्मचारीको सुरक्षा र दोषीमाथि कारबाहीको माग गरेको हो ।
यो घटनाको झापाका अन्य सहकारी संस्थाहरूले पनि कडा शब्दमा निन्दा गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमा नतिर्ने र उल्टै कर्मचारीलाई धम्क्याउने र दुर्व्यवहार गर्ने प्रवृत्ति आफैँमा निन्दनीय भएको भन्दै उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यस प्रकारका घटनाले समग्र वित्तीय क्षेत्रमा नकारात्मक असर पार्ने उनीहरुको धारणा छ ।



















