काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीको सांगठनिक संरचनालाई पुनर्जागृत गर्न र जनस्तरसँगको सम्बन्धलाई थप जीवन्त बनाउन महत्वाकांक्षी योजना अघि सारेको छ ।
पार्टीको केन्द्रीय संगठन विभागले पुस्तान्तरणलाई सहज बनाउँदै अनुभव र ऊर्जाको संयोजन गर्ने उद्देश्यले ‘दुई पुस्ता सँगसँगै’ नामक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
विभागका सचिव माधव ढुंगेलका अनुसार सोमबार बसेको विभागको बैठकले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको हो ।
जसअन्तर्गत, अब प्रत्येक वडामा पार्टीका अग्रज योद्धालाई सम्मान गर्ने र नयाँ पुस्ताका युवालाई लक्षित गरी प्रशिक्षण कार्यक्रम एकसाथ सञ्चालन गरिनेछ ।
यसले पार्टीभित्रको पुस्तान्तरणको खाडल पुर्ने र नयाँ-पुराना बीच सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ ।
बैठकले पार्टीलाई जनताको घरदैलोसम्म पुर्याउन ‘जरा अभियान’ जस्तै प्रभावकारी अभियान पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टीका सबै तहका कमिटी बैठकलाई केवल औपचारिकतामा सीमित नराखी, हरेक बैठकमा वैचारिक र राजनीतिक विषयमा लघु प्रशिक्षणसमेत सञ्चालन गर्ने परिपाटी बसालिने भएको छ ।
यसले पार्टीका कार्यकर्तालाई सैद्धान्तिक रूपमा स्पष्ट र अद्यावधिक राख्न मद्दत पुग्ने विश्वास एमालेको छ । पार्टी सदस्यता वितरण र नवीकरणमा थप कडाइ गर्दै एमालेले एक नौलो अभ्यासको थालनी गर्ने भएको छ ।
अबदेखि पार्टी सदस्यता नवीकरण गर्नुअघि हरेक सदस्यले अनिवार्य रूपमा पार्टीको सिद्धान्त, विधान र नीतिबारे तोकिएको परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।
आसन्न विधान महाधिवेशनको तयारीका लागि सांगठनिक दस्तावेजमा समेट्नुपर्ने विषयमा विस्तृत प्रतिवेदन तयार गरी पार्टी नेतृत्वलाई बुझाइएको सचिव ढुंगेलले जानकारी दिए ।



















