२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

कांग्रेसले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद



काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण गर्ने समयावधि बढाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले यसअघि तोकिएको असार मसान्तको समयसीमालाई तीन महिना थप गर्दै असोज मसान्तसम्म पुर्‍याएको हो ।

बैठकमा महामन्त्री गगन थापाले नवीकरणका लागि भदौ मसान्तसम्मको समय थप गर्न प्रस्ताव गरेका थिए । तर, केन्द्रीय समितिले जिल्ला तहमा काम गर्न थप सहज होस् भन्दै थापाको प्रस्तावमा एक महिना थपेर असोज मसान्तसम्मको समय दिने निर्णय गरेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार २०८२ असोज मसान्तभित्र नवीकरणको विवरण केन्द्रीय कार्यालयमा पेस गरिसक्नु पर्नेछ ।

उनले उक्त अवधिभित्र विवरण नपठाउने सदस्यहरूको नामावली १५ औं महाधिवेशनका लागि अद्यावधिक (सूचीकृत) नगरिने पनि स्पष्ट पारेका छन् ।

यो निर्णयले देशभरका पार्टी समितिहरूलाई नवीकरण प्रक्रिया टुंग्याउन थप समय मिलेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार ००:००  ५ : ४२ बजे