२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

बिर्तामोड नगरपालिकाद्वारा उद्यमी महिलालाई मेसिनरी सामान हस्तान्तरण



बिर्तामोड– बिर्तामोड नगरपालिकाले उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि प्रविधि हस्तान्तरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गर्दै महिला उद्यमीलाई विभिन्न सिलाई तथा प्याकेजिङ उपकरणहरू हस्तान्तरण गरेको हो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत ब्याग सिलाउने मेसिन ४ थान, इन्टरलक मेसिन ४ थान, पिको मेसिन १ थान र हेवी सिलाई मेसिन ८ थान वितरण गरिएको छ ।

उद्यमशिलता तालिम लिएका महिलालाई व्यवसाय सञ्चालनमा स्थानीय तहको तर्फबाट साझेदारीमा सहयोग उपलव्ध गराएको सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो ।

शसर्त अनुदानबाट १ लाख ४० हजार, आन्तरिक स्रोतबाट १ लाख ६० हजार र उद्यमी महिलाहरुको १ लाख ७ हजार ४८० रुपैयाँ लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको जनाइएको छ ।

नगरपालिकाले महिलाहरुलाई यसअघि ब्याग बनाउने ४५ दिन र सिलाई कटाई सम्बन्धी दुई महिना नि:शुल्क तालिम प्रदान गरेको थियो । सोही कार्यक्रमका बीच भुजिया बनाउने महिलालाई पनि इलेक्ट्रिक तराजु र प्याकेजिङ मेसिन प्रदान गरिएको छ ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र लगायतले सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले महिलाहरुको आर्थिक उपार्जनका लागि प्रविधि सहयोग गरेको बताउनु भयो । उहाँले सीप र प्रविधिको अधिकतम् सदुपयोग गर्न सबैलाइ सुझाव समेत दिनु भएको छ ।

उपप्रमुख संग्रौलाले स्थानीय सरकारले रोजगारी सिर्जना गर्नलाई सहयोग गरेको बताउनु भयो । उहाँले पालिकाले दिएको सामानको दुरुपयोग भए सामान जफत गरिने चेतावनीसमेत दिनु भयो ।

आर्थिक विकास समिति संयोजक संगीता शिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ योजना अधिकृत जय तिम्सिना, कार्यपालिका सदस्य तिला गौतम, निर्मला ल्वागुन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार ००:००  ७ : ०४ बजे