बिर्तामोड-आफूले लिएको ऋणको साँवा-ब्याज बढेर ४४ लाख नाघेपछि एक व्यक्तिले सहकारीका कार्यकारी प्रमुखलाई नै ज्यान मार्ने धम्की दिएका छन् ।
बिर्तामोड-४ मा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई फोनबाट ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले क्षेत्रीलाई पक्राउ गरेको डीएसपी विजय श्रेष्ठले पुष्टि गर्नुभयो । साविक बुधबारे-६ निवासी तथा हाल बिर्तामोड-१ मा बस्दै आएका क्षेत्रीले २०७७ चैत्र २ गते संस्थाबाट २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
लामो समयसम्म भुक्तानी नगर्दा सो ऋण बढेर ४४ लाख २९ हजार ३४५ रुपैयाँ पुगेको थियो । ऋण असुलीका लागि संस्थाको ऋण असुली समिति संयोजक भीमबहादुर पौडेल क्षेत्रीको घरमा जाँदा उनले कत्ति देखाएर धम्क्याएको संस्थाले जनाएको छ ।
त्यसपछि संस्थाले कानुनी बाटो रोज्ने जानकारीसहित पत्राचार गरेपछि आक्रोशित क्षेत्रीले बिहीबार बिहान कार्यकारी प्रमुख पौडेललाई सिधै फोन गरी घरमै आएर ज्यान लिने धम्की दिएका थिए ।
घटनापछि शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी सुरक्षाको माग गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको थियो । संस्थाका अध्यक्ष किशोर भट्टराईले ऋण असुली जस्तो नियमित प्रक्रियामा कर्मचारीले ज्यानको धम्की खेप्नुपर्ने अवस्था अत्यन्तै निन्दनीय भएको बताउनुभयो ।
प्रहरीले पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान अगाडि बढाएको छ ।















