झापा-पाथिभरामा केवलकार विवादको विषयमा गृह मन्त्रालयले बनाएको वार्ता समितिले कुनै निष्कर्ष दिन नसक्ने आन्दोलनरत पक्षले जनाएको छ ।
वार्ताका लागि केन्द्र सरकारले लिएको पहललाई सकारात्मक रुपमा लिइए पनि गृह नेतृत्वको वार्ता समितिले कुनै निष्कर्ष दिन नसक्ने आन्दोलनरत समूहले जनाएको हो ।
किराँत याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले केवलकार निर्माणको विषय राजनीतिक भएकाले वार्ताका लागि समेत राजनीतिक तहको समिति बनाउनुपर्ने बताउनुभयो ।
ताप्लेजुङको पाथिभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि भन्दै सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
भट्टराई नेतृत्वको समितिले सोमबार आन्दोलनरत पक्षसँग ललितपुरमा पहिलोपटक वार्ता गरेको छ । वार्ताका लागि पुन मङ्गलबार ११ बजेको समय तोकिएको छ ।