१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

केवलकार विवाद : मेची राजमार्गमा यातायात बन्दको घोषणा



झापा-केवलकार निर्माणको विरोधमा भएको आन्दोलनमा प्रहरीले दमन गर्दै गोली चलाएपछि आन्दोलनरत पहिचानवादी शक्तिले मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका छन् ।

केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतका पाँचवटा संस्थाले माघ १५ गते मङ्गलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्दको घोषणा गरेका हुन् ।

सातबुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै समितिले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालिन यातायात बन्दको आह्वान गरेको छ ।

फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनलाई जिल्ला बाहिर प्रवेश गर्न निषेध गर्ने, पाथिभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले माफी माग्नुपर्ने लगायतका माग आन्दोलनकारीले राखेका छन् ।

केवलकार निर्माण कम्पनी फिर्ताको माग गर्दै प्रदेश नम्बर १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले जिल्लामा व्यवसायी चन्द्र ढकाललाई प्रवेश नदिने घोषणा पनि गरेको छ ।

ढकालले सञ्चालन गरिरहेको ग्लाेवल आइएमइ बैंक बन्द गर्नुपर्ने माग पनि आन्दोलनकारीको छ । माघ १४ गते बैंक अगाडि शान्तिपूर्ण धर्ना दिने आन्दोलनकारीले जनाएका छन् ।

शनिबार ‘नाे केवलकार समूह’ र प्रहरीबीच दुईपटक झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेका तीन जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार नेपाल प्रहरीका इन्स्पेक्टर रोहित शर्मासहित जवानसम्मका १२ र सशस्त्र प्रहरीका नौ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार ००:००  ९ : २८ बजे