८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

महिला उद्यमी संघ झापाको अध्यक्षमा शर्मिला अधिकारी



बिर्तामोड-महिला उद्यमी सङ्घ नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । आगामी दुई वर्षे कार्यकालका लागि सङ्घको नयाँ कार्यसमिति चयन भएको हो ।

संघको अध्यक्षमा शर्मिला अधिकारी सर्वसम्मत चयन भएकी छन् । अधिकारी महिलाहरूको सीप तथा क्षमता विकासमा सक्रिय रहँदै उद्यमशीलताको क्षेत्रमा क्रियाशील छिन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा युनिता दवाडी चयन भएकी छन् । दवाडी यसअघि सहसचिव थिइन् । महासचिवमा दीपा श्रेष्ठ, सहसचिवमा पुनम अधिकारी र कोषाध्यक्षमा उमा पोखरेल चयन भएका छन् ।

संघको कार्य समितिमा गोमा पोखरेल, लक्ष्मी मिश्र, बोलो राजवंशी, अन्जु निरौला, विष्णु श्रेष्ठ, पुष्पा पोखरेल र हेलेन खरेल चयन भएको निर्वाचन समिति संयोजक नैनकला भट्टराईले बताइन् ।

महिला उद्यमी महासङ्घ नेपालकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको प्रमुख आतिथ्यमा भएको नवौं वार्षिक साधारण सभाले सङ्घको नयाँ नेतृत्व चयन गरेको हो ।

संघले आत्मनिर्भरताको खोजीमा रहेका महिलालाई संगठित गरी उद्यमशील बन्न निरन्तर प्रेरित गर्दै आएको छ । संघकी अध्यक्ष सुष्मा पौडेलले महिलामा सीप तथा क्षमताको विकास गरी उद्यमशील बन्न संस्थाले प्रेरित गर्दै आएको बताइन् ।

गोमा भट्टराई संस्थापक अध्यक्ष हुँदै स्थापना भएको सङ्घले महिलाहरूलाई सिलाई कटाई, कपुर धागो बनाउने तालिम, झोला बनाउने तालिम दिनुका साथै बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ ।

परम्परागत सीप हस्तान्तरणमा समेत संघले सहयोग गर्दै आएको अध्यक्ष पौडेलले बताइन् । यसैको निरन्तरता स्वरूप अघिल्लो महिना सङ्घले विद्यालय तहका विद्यार्थीलाई दुना टपरी बनाउने तालिम दिएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  १० : ०३ बजे