५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राहदानी विभागको विद्युतीय प्रणालीमा समस्या : वितरण प्रक्रिया बन्द



काठमाडौँ-देशभर राहदानी वितरण प्रक्रिया पूर्णरूपमा बन्द भएको छ । राहदानी विभागको विद्युतीय प्रणालीमा समस्या देखिएपछि एकैपटक सबैतिर राहदानी वितरणको प्रक्रिया रोकिएको हो ।

विद्युतीय प्रणालीमा बिहीबारदेखि समस्या सुरु भएको र कतैबाट पनि राहदानी वितरण हुन नसकेको विभागले जनाएको छ ।

विभागका अनुसार विभाग, जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राहदानी सम्बन्धी कुनै पनि सेवा उपलब्ध हुन सकेको छैन ।

विभागले सूचना जारी गर्दै तथ्याङ्क व्यवस्थापन प्रणालीमा आएको प्राविधिक समस्याका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ ।

समस्या समाधानका लागि प्राविधिक टोली परिचालित भइसकेको र आइतबारदेखि कम्तीमा विभागको मुख्यालयबाट सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको विभागले जनाएको छ ।

परिचालित प्राविधिक टोलीले भने समस्या जटिल भएकाले पूर्ण समाधानका लागि अझै केही दिन लाग्न सक्ने औँल्याएको छ । तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राही भने मर्कामा परेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार ००:००  ७ : २८ बजे