७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

झापासहित कोसीका ३० स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम



बिर्तामोड-कोसी प्रदेशका तीन जिल्लाका थप ३० स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम लागू भएको छ । प्रदेश, स्थानीय सरकार र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा यसवर्षदेखि कार्यक्रम लागू भएको हो ।

कोसीका झापा, तेह्रथुम र ताप्लेजुङका थप ३० स्थानीय तहमा कार्यक्रम प्रारम्भ भएको करुणा फाउण्डेसनका वरिष्ठ कार्यक्रम अधिकृत कमल कोइरालाले बताए । गत आर्थिक वर्षदेखि ओखलढुङ्गा, सोलुखुम्वु, खोटाङ र उदयपुरका ३४ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन भएको थियो ।

करुणा फाउण्डेसनले यो वर्षदेखि झापासहितका तीन जिल्लामा कार्यक्रम लागू गरेको हो । पहिलो चरणमा कार्यक्रम लागू भएका जिल्लाबाट भने तीन वर्षको अवधि पूरा भएपछि करुणा फाउण्डेसन बहिर्गमन हुने गर्छ । कोसीका ७३ स्थानीय तहबाट फाउण्डेसन बहिर्गमन भइसकेको छ ।

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम कार्यान्वयनको नेतृत्व स्थानीय तहले गर्दै आएको कोइरालाले बताए । कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिको पहिचान, स्वास्थ्य परीक्षण, पुनर्स्थापनाका लागि आवश्यकता पहिचान, परिचयपत्र र सहायक सामग्री वितरण लगायतका विषय राखिएका छन् ।

मंसिर २ गतेदेखि स्थानीय तहको अग्रसरतामा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको कार्यक्रम अधिकृत कोइरालाले बताए । पुसको दोस्रो साताभित्र शिविरमार्फत झापामा रहेका २३ हजार ९८८ अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

शिविरमार्फत पहिचान भएका व्यक्तिलाई उनीहरुको आवश्यकताका आधारमा जीविकोपार्जन, सशक्तीकरण, स्वाथ्योपचारका लागि सघाउने स्थानीय सरकारको नीति छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ००:००  ८ : ४६ बजे