झापा-आन्तरिक उत्पादन घटेपछि भारतमा नेपाली चियाको माग बढेको छ । भारतीय आयातकर्ताले अधिकतम् मूल्य तिरेर नेपाली चिया खरिद गरिरहेका छन् ।
नेपाली चियाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन् । अघिल्लो वर्ष नेपालमा उत्पादित सिटिसी चिया प्रतिकिलो सय रुपैयाँ भन्दा कम मूल्यमा बिक्री भएको थियो । यसवर्ष भारतीय उत्पादन १४ प्रतिशतले घटेको छ ।
यसवर्ष १६० रुपैयाँ भन्दाबढी दिएर भारतीय आयातकर्ताले चिया किनिरहेका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ६३ करोड रुपैयाँको चिया निर्यात भएको छ ।
परिमाणका हिसाबले ६२ लाख ६१ हजार किलोग्राम सिटिसी चिया भारत निर्यात भएको हो । गतवर्ष यही अवधिमा १ अर्ब १० करोड रूपैयाँको ४७ लाख किलोग्राम सिटिसी चिया भारत निर्यात भएको थियो ।
विभागका अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड रुपैयाँको १ करोड ३३ लाख किलोग्राम सिटिसी चिया भारत निर्यात भएको थियो । यस वर्ष बढेर १ करोड ५० लाख किलो सिटिसी चिया भारत निर्यात हुने पूर्वानुमान गरिएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यसवर्ष सिटिसी चियाको निर्यात अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि हुने बोर्डको अनुमान छ ।


















