काठमाडौँ-सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले संयन्त्र निर्माण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउने गरी सरकारमा सहभागी मन्त्रीलाई समेत राखेर संयन्त्र बनाइएको हो ।
दुईदलीय संयन्त्रमा नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा रहेका छन् ।
नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव एवम् प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयन्त्रमा सहभागी छन् ।
दुई दलीय सत्ता गठबन्धनलाई थप कसिलो बनाउँदै लैजाने र सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले संयन्त्र गठन भएको नेकपा एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।
दुई दल बीच सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिका आधारमा सरकार सञ्चालनको प्रक्रियालाई अगाडि बढाउने निष्कर्षसहित संयन्त्रको पहिलो बैठकले विभिन्न दुईवटा निर्णय गरेको छ ।
संयन्त्रको नेतृत्व आलोपालो गर्ने निर्णय बैठकले गरेको हो । मङ्सिर २० सम्म संयन्त्रको नेतृत्व कांग्रेस उपसभापति खड्काले गर्ने छन् । बैठकले परराष्ट्र मन्त्री राणाको नेतृत्वमा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अघि बढाउने निर्णय गरेको छ।


















