झापा-सहकारीको रकम अपचलन अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुन अदालतमा उपस्थित गराइने भएको छ ।
तिहार बिदाका कारण सभापति लामिछानेलाई आज मात्र अदालत उपस्थित गराउन लागिएको हो । कार्तिक १४ गते नै उनको म्याद सकिएको थियो ।
प्रहरीले सहकारीको रकम अपचलन सम्बन्धमा पहिलोपटक ६ दिन र दोस्रोपटक ७ दिन अदालतबाट म्याद थपेर सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार सभापति लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धिकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

















