१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नयाँ उज्यालो सहकारीको १३ औँ वार्षिक साधारण सभा



बिर्तामोड-नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत मोहन सुवेदीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको अवसरमा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुष्मा भण्डारीले ७७ जनाको सामूहिक प्रयासबाट सुरु भएको संस्थामा २६९९ जना शेयर सदस्य रहेको बताइन् ।

अध्यक्ष भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको सेयर पूँजी २ करोड ४० लाख ९१ हजार पाँच सय रुपैयाँ छ । चालु आर्थिक वर्षमा संस्थाले सेयर वृद्धि गरेर तीन करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको छ ।

ऋणी र बचतकर्ता पुरस्कृत

सहकारी संस्थाले नियमित कारोबार गर्ने असल ऋणी, असल बचतकर्ता र ज्येष्ठ सेयर सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेमा असल ऋणीतर्फ प्रेमकुमार थापा मगर र ममता गुरुङ रहेका छन् ।

असल बचतकर्ताका रूपमा कुमार प्रधान र धनकुमारी आचार्य सम्मानित भएका छन् । संस्थाले जेष्ठ सेयर सदस्य यमबहादुर बराइली, मुनुदेवी भण्डारी, नरबहादुर कटुवाल, बृहस्पति शर्मा घिमिरे र विष्णुमाया घिमिरेलाई सम्मान गरेको छ ।

जेष्ठ नियमित बचत सदस्यतर्फ धनमान वाङदेन र शान्तादेवी भट्टराई पुरस्कृत भएका छन् । सहकारी संस्थालाई सिसी क्यामेरा उपलब्ध गराउने विपिन बजगाईंलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष केशर खवास, झापा जिल्ला सहकारी सङ्घका सदस्य केशवकुमार बस्नेत, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, साना मझौला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देविका बस्नेत, गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज बिमली लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले स्वागत गरेको कार्यक्रम सहकारी संस्थाका सहसचिव शिवराम पौडेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ००:००  २ : ३४ बजे