ताप्लेजुङ-हिमाली क्षेत्रमा पाइने रेडपाण्डा अर्थात् हाब्रेको संरक्षणमा सरकारी चासो कम भएको सरोकारवालाले बताएका छन् । तिनै तहका सरकारले रेडपाण्डाको संरक्षणमा उदासीनता देखाएको उनीहरूको आरोप छ ।
नेपालमा पाँच सयको हाराहारीमा रेडपाण्डा रहेको तथ्याङ्क छ । बाँस र निगालो प्रजातिलाई मुख्य आहारा बनाउने रेडपाण्डा सिकारीको निशानामा समेत पर्दै आएको छ ।
संकटापन्न सूचीमा रहेको रेडपाण्डाको संरक्षणमा सरकारी प्रयास कमजोर रहेको ताप्लेजुङको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका सचिव पासाङ रिता शेर्पा बताउँछन् ।
विगतको तुलनामा रेडपाण्डाको सङ्ख्या घटेको सचिव शेर्पाले बताए । उनका अनुसार देउराली सामुदायिक वनमा ४० को हाराहारीमा रेडपाण्डा छन् । २०६२ सालदेखि संरक्षणको काम गरिरहेको शेर्पाले जानकारी दिए ।
सामुदायिक वनकै प्रयासमा रिसर्च सेन्टर स्थापना भएको जानकारी दिँदै सचिव शेर्पाले कुकुरको आक्रमणबाट धेरै रेडपाण्डाले ज्यान गुमाएको बताए ।


















