१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बिर्तामोडमा रात्रिकालीन व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाउने निर्णय



बिर्तामोड-होटल रेस्टुरेन्ट लगायतका रात्रिकालीन व्यवसाय सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले मापदण्ड बनाउने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सरोकारवालासँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि होटल व्यवसायीले राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

व्यवसायीको माग बमोजिम नगरपालिकाले सरोकारवालालाई बोलाएर सर्वपक्षीय बैठक आयोजना गरेको हो । बैठकमा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत पार्टी प्रतिनिधिको उपस्थिति थियो ।

बैठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसी क्यामेरा चालु अवस्थामा राख्ने, आवश्यकता अनुसार थप स्थानमा सिसी क्यामेरा जडान गर्ने लगायतका निर्णय पनि गरेको छ ।

बैठकले आपराधिक गतिविधि न्यूनीकरण गरी शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा इलाका प्रहरी कार्यालय अनारमनीले कार्य योजना बनाएर लागू गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा नगर उपप्रमुख नगेन्द्र संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडासहित जनप्रतिनिधिहरू, होटल व्यवसायी र उपभोक्ता जागरण अभियानका पदाधिकारी पनि सहभागी थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ००:००  ९ : ५९ बजे