९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न मिसन ८४ : प्रदेश इन्चार्ज राई



बिर्तामोड-नेकपा एमाले कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न मिसन २०८४ को अवधारणा अघि सारिएको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी झापाको तेस्रो पूर्ण बैठकलाई बुधबार बिर्तामोडमा सम्बोधन गर्दै एमाले स्थायी कमिटीका सदस्य समेत रहेका राईले तिनै तहका सरकारमा एमालेको बहुमत हुने गरी मिसन २०८४ भनिएको बताए ।

एमालेलाई बलियो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा विकास गर्ने र मुलुकको नेतृत्व गर्ने सङ्कल्प गरिएको नेता राईले बताए । कोशी प्रदेशको पहिलो मुख्यमन्त्रीसमेत रहेका राईले कांग्रेससँगको सहकार्य राजनीतिक स्थायित्वका लागि भएको प्रष्ट पारे ।

बैठकलाई सम्बोधन गर्दै एमाले झापाका इन्चार्ज रोमनाथ ओलीले जनवाद र केन्द्रीयतालाई सन्तुलनमा राख्नुपर्ने बताउँदै पार्टी नेता कार्यकर्ताले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन नहुने सुझाव दिए ।

नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको बैठकमा बोल्दै कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एमालेबाट निर्वाचित जनप्रतिनिधिको मध्यावधि मूल्याङ्कन पार्टीले चाँडै गर्ने बताए ।

एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलका अनुसार पार्टीले वर्षभरि गर्ने कामको वार्षिक कार्य योजना बनाएको छ । बैठकमा कार्यालय सचिव छविलाल विश्वकर्माले करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको वार्षिक आम्दानी र खर्चको अनुमानित विवरण प्रस्तुत गरेका छन् ।

बैठकमा लेखा आयोगका अध्यक्ष राजेन्द्र भट्टराईले लेखा कमिटीको प्रतिवेदन र पार्टी सदस्यता अनलाइन सिस्टम सम्बन्धी कार्ययोजना जिल्ला सचिव तुलसी कार्कीले प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ००:००  ९ : ०८ बजे