अर्जुनधारा-प्रहरी चौकी शनिश्चरेले भरुवा बन्दुक र चोरीका सामानसहित स्थानीय तीन युवालाई पक्राउ गरेको छ । शुक्रबार राति उनीहरू समातिएका हुन् ।
अर्जुनधारा ७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा चोरी भएको उजुरीपछि प्रहरीले घटनामा संलग्नको खोजी सुरु गरेको थियो ।
अभियुक्तको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा ४ का आदित्य लिम्बु, छिरिङ तामाङ र निखिल तामाङ रहेका छन् ।
अनुसन्धानका क्रममा छिरिङले लुकाइछिपाइ राखेको अवस्थामा भरुवा बन्दुक फेला परेकाे झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
पक्राउ परेका अभियुक्तका साथमा तीन थान चाँदीको सिक्री, चार थान चाँदीको औँठी र पाउजु, २४ स्थान नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड र चोरी गर्दा प्रयोग गरिएको खुकुरी फेला परेको छ ।


















