झापा- काठमाडौंबाट त्रिशुली जाँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरी–७ स्थित सूर्यचौर डाँडामा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको हो ।
नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको पुष्टि गरेका छन् । शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको एसपी कोइरालाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार क्याप्टेन अरुण मल्लले हेलिकप्टर उडाइरहेका थिए । नुवाकोटको शिवपुरीमा दुर्घटना भएको हो ।
गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा भीष्म भुसालका अनुसार हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । थप विवरण आउन बाँकी छ ।
विमानस्थल कार्यालयका अनुसार हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको जनाइएको छ ।

















