५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

रतुवामाईको जङ्गलमा नक्कली सुन बेच्न खोज्ने दुई जना पक्राउ



सतासीधाम– नक्कली सुन देखाएर ठगी गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गल क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका ४ घर भई झापाको अर्जुनधारा ११ पुतली झोडामा बस्दै आएका ४२ वर्षीय माइला कामी भन्ने पदमबहादुर विश्वकर्मा र ताप्लेजुङ माैबाखा गाउँपालिका ६ सामताेङका ४१ वर्षीय राम लिम्बू रहेका छन् ।

सुनसरीको बराह क्षेत्र नगरपालिका ५ कालाबञ्जारस्थित पाथिभरा ज्वेलर्सका सञ्चालक मानबहादुर बिकलाई बिलविजक नभएको पहेँलो जस्तो देखिने धातु बेच्न लागेको अवस्थामा उनीहरू दुई जनालाई प्रहरीले समातेको हो ।

पक्राउ परेकाहरूका साथबाट लेप लगाएको पहेँलो सुनजस्तो देखिने एक किलो १९० ग्राम ताैल भएको धातु, फलामको बिँड बिनाको मार्तल र विभिन्न सुनचाँदी पसलको बिलविजक फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतमा उपस्थित गराई ठगी कसुर मुद्दामा पाँच दिनको म्याद थप गराइएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार लिम्बू यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेर छुटेका थिए । उनी फेरि आपराधिक घटनामा लागेको खुलेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ००:००  ८ : २१ बजे