८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

सहकारी अभियन्ता महेन्द्रकुमार गिरीसहित पाँचजनालाई विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान



बिर्तामोड– गोरखा फाउन्डेसन नेपालले विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्वहरूलाई विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्ने भएको छ । फाउन्डेसनले सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी सम्मानित व्यक्तित्वको नाम घोषणा गरेको हो ।

उत्पीडित समुदायका अग्रज विशे नगर्चीको योगदानबाट युवा पुस्ताले प्रेरणा लिएर आफूले पनि समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने मान्यता राखेर कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष बिरु दर्नालले बताए ।

फाउन्डेसनले नेपाली चलचित्रका लेखक तथा निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, उत्पीडित महिलाबाट पहिलो स्थानीय विकास अधिकारी तथा प्रमुख जिल्ला अधिकारी सीता परियार, अन्टार्क्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा र नेपालको सबैभन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सम्मान गर्ने घोषणा गरेको हो।

राष्ट्रिय सभाका अध्यक्ष गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष दर्नालले जानकारी दिए। २०७५ चैत १८ गते दर्ता भएको फाउन्डेसनले २०७८ कार्तिकमा झापाबाट १६ जना पत्रकारसहितको टोली गोर्खा लगेर विशे नगर्चीको योगदानका विषयमा अध्ययन अनुसन्धान गराएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार ००:००  ८ : ४३ बजे