८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

रुसी सेनामा भर्ती भएका हल्दीबारीका अधिकारीको मृत्यु



झापा-युक्रेनसँगको युद्धमा मारिएका सात नेपालीमध्ये एकजना झापा हल्दिबारी-१ का गंगाराम अधिकारी भएको पुष्टि भएको छ । यो सँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको सङ्ख्या २१ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले साविक गोल्धाप ५ निवासी ३३ वर्षीय अधिकारीको युक्रेनसँगको युद्धमा मृत्यु भएको पुष्टि गरेको हो । युद्धपछि २७२ जना नेपाली लामो समयदेखि सम्पर्कविहीन भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको युक्रेनसँगको युद्धमा मृत्यु भएको खबर सार्वजनिक गरेको थियो ।

पाँच वर्षअघि कतार गएका अधिकारी दुबई हुँदै गैरकानुनी रूपमा चार महिनाअघि रुसी सेनामा भर्ती भएको जनाइएको छ । माघ ४ गते अन्तिमपटक परिवारसँग उनको सम्पर्क भएको थियो ।

स्थानीय रघुनाथ अधिकारीका एकमात्र छोरा गङ्गारामका श्रीमती अनुराधा १५ र ५ वर्षका दुई छोरा छन् । हल्दीबारी -१ का वडाध्यक्ष देवी थापाले पनि घटनाको पुष्टि गर्दै परिवारलाई घटनाबारे जानकारी गराइएको बताए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ००:००  ९ : ५९ बजे