बिर्तामोड-बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कूलकाे शैक्षिक गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप भएको प्रमाणीकरण गरेको छ ।
नेपालमा राजधानी काठमाडौँबाहिर पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर अनुसार तक्षशिला सञ्चालन भइरहेको विश्वविद्यालयले प्रमाणीकरण गरेको हो ।
शनिबार विद्यालयमा आयोजित शैक्षिक महोत्सवका अवसरमा विद्यालयका एकेडेमिक डाइरेक्टर डाक्टर भेक्टर जोसेफले तक्षशिलालाई क्याम्ब्रिजले सर्टिफाई गरेको बताउँदै यो अभूतपूर्व खुसी साट्न पाउँदा आफूलाई गौरव लागेको बताउनुभयो ।
आमअभिभावक, शैक्षिक अभियन्ता र विद्यालयमा कार्यरत शिक्षकहरूको मेहनत र लगावका कारण यो सफलता प्राप्त भएको जोसेफले बताउनुभयो ।
विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्कीका अनुसार राजधानीबाहिर पहिलोपटक गतवर्ष क्याम्ब्रिजले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तर कायम गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न तक्षशिलालाई अनुमति दिएको थियो ।

क्याम्ब्रिजले तोकेका मापदण्डको परिपालना गर्दै शैक्षिक गुणस्तर वृद्धिमा सफलता पाएकाे डाक्टर कार्कीले बताउनुभयो । तक्षशिलाले स्वीडेनको लिटल आइनस्टाइनसँगको आबद्धतामा मन्टेश्वरी सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइज अनुमति पनि प्राप्त गरेको छ ।

प्रत्येक कक्षा कोठामा सिसी क्यामेरासहित पाँच विद्यार्थी बराबर एक शिक्षिकाको व्यवस्था हुने गरी पठनपाठन सुरु गरिएको विद्यालयका निर्देशक प्रमिष गिरीले बताउनुभयो ।
शैक्षिक गुणस्तर प्रमाणीकरण र मन्टेस्वरी सञ्चालनका लागि क्याम्ब्रिजका तर्फबाट डाक्टर रोशन राठी, लिटल आइन्सटाइन्सका तर्फबाट डाक्टर बसन्त जोशीले सम्झौता गर्नुभएको छ ।
विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सवकाे उद्घाटन प्राध्यापक डा. उमेश शर्माले गर्नुभएको थियो । महोत्सवमा विद्यार्थीले नेपाली मौलिक परिकार, परम्परागत रहनसहन र संस्कृतिसहित विभिन्न खेल प्रदर्शनी गरेका छन् ।
विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप तथा क्षमताको विकासका लागि पनि तक्षशिलाले नियमित अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको डाक्टर कार्कीले बताउनुभयो ।
डिजिटल प्रविधिको विकास र विस्तारमा भएको परिवर्तनसँगै विद्यार्थीलाई प्रविधि अनुकूलको शिक्षा प्रदान गर्न तक्षशिलाले थप सम्झौता पनि गरेको छ । कक्षा १ देखि १० कक्षासम्म सञ्चालन भएको तक्षशिलामा अहिले ६०० भन्दाबढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।


















