९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बिर्तामोड नगरद्वारा कर्मचारी र जग्गादातालाई सम्मान




बिर्तामोड–बिर्तामोड नगरपालिकाले उत्कृष्ट कर्मचारीसहित जग्गा दातालाई आइतवार सम्मान गरेको छ । सहीद नेत्रपार्कमा आयोजित दोस्रो नगरसभाको चौथो अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

शिक्षा शाखाका अधिकृत दिनेशप्रसाद आचार्य, वडा नम्बर ९ का वडासचिव सुवासकुमार विक र बिर्तामोड नगर अस्पतालकी सिनियर अनमी ओमकुमारी गुरुङलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

नगरपालिकाले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र तेलगानीलाई स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दिने जग्गादाता श्रीप्रसाद शिवाकोटी दम्पतीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उप प्रमुख शान्ता रोक्का, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा सरकारी सेवा निवृत हुनु भएका बिर्तामोड नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाललाई विदाई गरिएको छ । भद्रपुर नगरपालिका १० निवासी दाहाल २०४४ साल मंसिर १४ गतेदेखि सरकारी सेवामा प्रवेश गर्नु भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ००:००  ११ : १५ बजे