झापा-बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बिर्तामोडको नयाँ बसपार्क क्षेत्रमा एउटा ओभरहेड ट्याङ्की निर्माण गरी अत्याधुनिक डीप बोरिङ जडान गर्ने भएको छ ।
राष्ट्रिय सभाका सदस्य माननीय गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा शनिबार आयोजित २१ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले उक्त घोषणा गर्नुभएको हो ।
अध्यक्ष बाँस्तोलाले चालु आर्थिक वर्षभित्रै थप दुई थान बोरिङ जडान गरिने बताउनुभयो । बिर्तामोड खानेपानीमा हाल तीनवटा ओभरहेड ट्याङ्की, १५ वटा डीप वाेरिङ र १० वटा फिल्टर प्लान्ट रहेका छन् ।
बिर्तामोडमा नाै हजार भन्दाबढी उपभोक्ता रहेको संस्थाले जनाएको छ । साधारणसभामा दिएको जानकारी अनुसार दैनिक १ करोड ८३ लाख लिटर पानी उत्पादन गरी उपभोक्ताका धारामा वितरण गरिँदै आएको छ ।
चालु आर्थिक वर्षमा ५०० वटा नयाँ धारा जडान गरी पानीको आपूर्ति क्षमता विस्तार गरिएको अध्यक्ष बाँस्तोलाले बताउनुभयो । पानीको बढ्दो मागलाई ध्यानमा राख्दै संस्थाले सैनिक मोड विराटपोखर क्षेत्रमा उपयुक्त जग्गाको खोजी गरी अर्को योजना निर्माण गर्ने पनि तयारी गरेको छ ।
पानीलाई चिस्यान गरी जारमा बिक्री गर्ने योजनासहित निजी तथा सरकारी समन्वयमा बिर्तामोडको मुक्तिचोकमा वाटर एटीएम स्थापना गरिने अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।


















