८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

विश्वास परियोजनामार्फत समुदायको स्वास्थ्य सुरक्षामा सहारा



बिर्तामोड–जनस्वास्थ्य केन्द्रीत विश्वास परियोजनामार्फत समुदायको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको सहारा नेपालले जनाएको छ ।

परियोजनामार्फत झापामा सञ्चालन भइरहेका कार्यक्रमको प्रभावकारिता बढ्दै गएको जनाउँदै सहाराले लक्षित समुदायको व्यवहार परिवर्तनमा पनि सफलता मिल्दै गएको बताएको हो ।

परियोजनामार्फत कार्यान्वयन भइरहेका जनस्वास्थ्य लक्षित कार्यक्रमका विषयमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार स्थानीय साझेदार संस्थाका रुपमा सहारा नेपालले सरकार उपेक्षित १० वटा रोगको न्युनीकरणका लागि समुदायमा काम गरिरहेको छ ।

सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले स्वीस सरकारको सहयोगमा फेयरमेड फाउण्डेसनमार्फत करुणा फाउण्डेसनसँगको सहकार्यमा झापा, मोरङ र सुनसरीमा स्वास्थ्य सुरक्षाका कार्यक्रम सञ्चालन भइरहेको बताए ।

मातृ शिशु स्याहार र अपाङगता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारमा समेत सहयोग गर्ने गरी दुई वर्षदेखि विश्वास परियोजना सञ्चालनमा छ ।

ग्रामीण तहका विपन्न नागरिकको स्वास्थ्य सुरक्षामा जोड दिएको परियोजनाले कुष्ठरोग, हात्तीपाइले, जुका, डेंगु, कालाजार, सर्पदंश, रेबिज, लुतो र फित्ते जुकाको जोखिमलाई न्यूनीकरण गर्न सरकारसँगको समन्वयमा काम गर्दै आइरहेको फोकल पर्सन पवनकुमार राईले बताए ।

परियोजनाका संयोजक मातृका सुवेदीका अनुसार वर्थिङ सेन्टर स्थापनाका लागि पनि परियोजनाले सघाउँदै आएको छ । सुरक्षित प्रसुतिका लागि पनि परियोजनाले प्रेरित गर्दै आएकाले मातृ तथा शिशु मृत्युदरमा पनि कमी आउने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार ००:००  १० : १८ बजे